सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबार आजदेखि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।
तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यगमन कार्यालयले पास वितरण सुरु गरेको छ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउने दूतावासले जनाएको छ ।
२०७२ सालको महाभूकम्प पछि तातोपानी नाका पूर्ण रुपमा बन्द भएको थियो । दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो ।
कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।





































