काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि विभिन्न बीमा योजनाका लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। नयाँ दर अनुसार जीवन बीमा योजनाहरूमा बीमा अवधिअनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस प्रदान गरिने कम्पनीले जानकारी गराएको छ।
कम्पनीले सावधिक बीमा योजनाअन्तर्गत बच्चाको शिक्षा तथा विवाह बीमा योजना, सामूहिक सावधिक अमृत योजना, भविष्य वृत्ति योजना, दम्पति अमृत सावधिक योजना, एकल तथा बचत अमृत सावधिक योजना, सन्जीवनी अमृत सावधिक योजना र जीवन श्री सावधिक आजीवन योजना लगायतका बीमालेखमा बीमा अवधि अनुसार ६४–८६ रुपैयाँ प्रतिहजारका दरले बोनस लागू हुने स्पष्ट पारेको छ।
त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखअन्तर्गतका कार्यक्रम अग्रिम भुक्तानी सावधिक योजना, बाल भाग्योदय योजना, अमृत वर्षा अग्रिम भुक्तानी योजना, एकल अमृत वर्षा २ तथा अमृत श्री अग्रिम भुक्तानी योजनामा ६०–८५ रुपैयाँ प्रतिहजारका दरले बोनस प्रदान गरिनेछ।
सावधिक तथा आजीवन बीमालेखअन्तर्गतको जीवन अमृत आजीवन सावधिक योजनामा ६०–८५ रुपैयाँ, बाल अमृत सावधिक जीवन बीमालेख (१,२,३,४) तथा एकल बाल अमृत सावधिक योजनामा भने सबै बीमा अवधिमा समान ६० रुपैयाँ बोनस तोकिएको छ। त्यस्तै अग्रिम भुक्तानी आजीवन बीमालेखअन्तर्गतको अमृत श्री योजनामा पनि सबै अवधिमा समान ६० रुपैयाँ प्रतिहजारका दरले बोनस लागू हुनेछ।
कम्पनीका अनुसार घोषणा गरिएको यो बोनसदर मुनाफामा सहभागी हुने (बोनस लिने) गरी जारी गरिएका सबै बीमालेखहरूमा लागू हुनेछ। बीमा प्राधिकरणबाट अर्को बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत नहुन्जेलसम्मका दाबी भुक्तानीमा पनि यही बोनसदर निरन्तर लागू रहने कम्पनीले स्पष्ट गरेको छ।


































