काठमाडौँ। पोखरामा एक साता बसाइपछि आज दिउँसो हवाई मार्ग हुँदै पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ विमानस्थलमा ओर्लिँदै छन् । सोही मौकामा राजावादीहरूले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् ।
शाह काठमाडौँ फर्कने अवसरमा राजसंस्थाका पक्षधर राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौँका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन् । राजावादीहरूले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने तयारी थालेका छन्।
शाह विमानस्थलबाट महाराजगन्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरू पनि उनलाई पुर्याउन र्यालीसहित निर्मल निवाससम्म पुग्ने भएका छन् । त्यसका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरूलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् ।
काठमाडौँ उपत्यका आसपासका जिल्लाबाट कार्यकर्ताहरूलाई आज सडकमा उतार्ने उनीहरूको तयारी रहेको छ । उनीहरूलाई राष्ट्रिय झण्डा, फूल माला र ज्ञानेन्द्र शाहको तस्बिर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुन भनिएको छ।
साथै, अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईँ समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवा: एकता तथा नागरिक समाज लगायत पनि पूर्व राजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।
राप्रपाबाट स्वागतको व्यवस्थापन सांसद ज्ञानेन्द्र शाहीले मिलाएका छन् । उनका अनुसार काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरूको र्याली तीनकुनेमा जम्मा हुने छ । त्यहाँबाट र्याली विमानस्थलतर्फ अगाडि बढ्ने छ । यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरआउनेहरू महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट र्याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।
यसैगरी अन्य समूहहरूले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्ण मन्दिर लगायतका स्थानबाट पनि र्याली निकाल्ने तयारी गरेका छन् । सबै समूह विमानस्थल अगाडिको गेटमा भेला भएर नारा जुलुससहित ज्ञानेन्द्र शाहलाई निर्मल निवाससम्म पुर्याउन जाने छन् ।
राजावादीहरूको स्वागतमा विभिन्न दल र समूहहरू सडकमा उत्रिने भएपछि काठमाडौँको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ। भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ । साथै अत्यधिक जामको प्रभाव हुने देखिएको कारण पनि उचित र वैकल्पिक बाटो प्रयोग गर्न समेत आग्रह गरिएको छ ।


































