काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१- ०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज सोमबार बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१- ०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तयार भएको छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ। उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष कृषि, पर्यटन, शिक्षा र रोजगारी प्राथमिकता दिई तयार पारिएको नीति तथा कार्यक्रम सार्वजनिक गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।
प्रदेश सरकारले विगत एक वर्षमा निर्माण गरेको नीतिलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रमहरू तय गरिएको छ भने सो नीति अनुसार नयाँ ढङ्गका कार्यक्रमहरू तयारी गरिएको छ। सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी थालेको जनाइएको छ।
५ वर्षे नीति निर्माण गरी सो अनुसार आगामी १० वर्ष लगानी वर्षको रूपमा अघि बढाउने सरकारको योजना रहेको छ । प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र उत्पादकत्व वृद्धिमा केन्द्रित रहने भएको छ ।
शिक्षा क्षेत्रको विकासका लागि प्रदेशमा सार्वजनिक विश्व विद्यालय स्थापना तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय मर्जर गरी प्राविधिक शिक्षामा जोड दिने, शिक्षा क्षेत्रमा गुणात्मक उपलब्धि निकाल्न पाठ्यक्रम र परीक्षा प्रणाली परिमार्जन गरी आवासीय मोडलमा विद्यालय शिक्षाको विकास गर्ने र शिक्षाको नीति अनुकूल आयोजना निर्माणमा सरकारले काम गरिरहेको मुख्यमन्त्री जम्कट्टेलको भनाई रहेको छ ।
प्रदेशमा कृषि, पर्यटन तथा औद्योगिक विकास तथा संरचना निर्माण गरी आन्तरिक रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको जम्कट्टेलको भनाई छ । पूर्वाधार क्षेत्रको विकासमा सरकारले प्रादेशिक गुरुयोजना बनाएर ३५० भन्दा बढी सडक आयोजनाहरूमा काम गर्ने सरकारको योजना रहेको बताएका छन् ।

































