काठमाडौं। बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन नियमित अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
स्थलगत निरीक्षणका क्रममा त्रुटि भेटिएपछि विभागले ती व्यवसायहरूलाई आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको जनाएको छ। यसअनुसार मेट्रो मार्केट प्रालि (इमाडोल), सेलवेज क्यास एण्ड क्यारी प्रालि (महाराजगञ्ज), मेगा मार्ट प्रालि (विशालनगर) र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि (चक्रपथ) लाई उक्त निर्देशन दिइएको हो।
यसै क्रममा मुना कृषि लिमिटेडलाई पनि समान प्रकृतिको निर्देशन जारी गरिएको विभागले जनाएको छ। साथै, अन्य १० वटा फर्मलाई भने सुधार गर्न सचेत गराइएको छ।
विभागले उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागितामा कालोबजारी नियन्त्रण र अखाद्य वस्तुको बिक्री रोक्ने उद्देश्यसहित बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ।


































