काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको अवैध कारोबारबारे जानकारी भएमा तत्काल सूचित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्तिको समस्यालाई बहाना बनाएर ग्यासको अनियमित कारोबार भइरहेको आशंका गर्दै विभागले यस्ता गतिविधिबारे जानकारी भए निःशुल्क फोन नम्बर ११३७ मा खबर गर्न अनुरोध गरेको हो।
हालैका दिनमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, भण्डारण गरेर लुकाउने तथा महँगो मूल्यमा बिक्री गर्ने जस्ता गतिविधि बढेको पाइएपछि उपभोक्ताबाट सूचना संकलन गर्न विभाग सक्रिय भएको जनाएको छ।
नेपाल आयल निगमले आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था गरे पनि बजारमा ग्यास अभाव भने कायमै रहेको छ।
देशभरबाट सहज रूपमा सम्पर्क गर्न मिल्ने गरी उक्त निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। साथै, विभिन्न स्थानमा नियमित अनुगमन र निरीक्षण भइरहेको र कैफियत भेटिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिँदै आएको स्पष्ट पारिएको छ।
































