काठमाडौँ – चालू आर्थिक वर्षको अन्तिम समय मुखैमा आउँदा समेत सरकारको पुँजीगत अर्थात् विकास खर्च लक्ष्यको ३४ दशमलव १६ प्रतिशत मात्रै भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा एक खर्ब १९ अर्ब ८६ करोड रुपैयाँ मात्रै खर्च भएको उल्लेख छ ।
गत आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले लक्ष्यको ३७ प्रतिशत विकास बजेट खर्च गरेको थियो । आफ्नो लक्ष्य भेटाउन सरकारले अब दुई महिनामा दुई खर्ब ३१ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ विकास बजेट खर्च गर्नुपर्छ ।
विकास बजेटको खर्च कमजोर रहे पनि चालूतर्फ भने लक्ष्यको ६७ दशमलव ७९ प्रतिशत धेरै खर्च भइसकेको छ ।
सरकारले आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा लक्ष्यको ६४ दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । १४ खर्ब १९ अर्ब ३० करोड राजस्व सङ्कलनको लक्ष्य लिएको सरकारले वैशाख मसान्तसम्ममा नौ खर्ब १९ अर्ब ३९ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
सरकारले १० महिनामा कुल नौ खर्ब ४६ अर्ब ३३ करोड ४३ लाख आम्दानी गर्दा ११ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ भने सरकारको आम्दानी भन्दा खर्च दुई खर्ब ११ अर्ब रुपैयाँभन्दा धेरैले बढी देखिएको छ ।
कम समयमा धेरै काम गर्दा कामको गुणस्तर नदेखिनुको साथै कतिपय कामै नगरी भुक्तानी दिनेलगायतका समस्या आउने गरेका छन् ।


































