काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको ठाडै अस्वीकार गरेका छन् । मन्त्री किरातीले प्राधिकरणका महानिर्देशक अधिकारीलाई यहीँ असार ११ गते ९ बुँदे स्पष्टीकरण सोधेका थिए । उक्त स्पष्टीकरणको समय सोमबार साँझ ५ बजे सकिएपनि अधिकारीले कुनै जवाफ नदिएर मन्त्रीको स्पष्टीकरणको अवेज्ञा गरेका हुन् ।
आफुु मन्त्रिपरिषद्को निर्णयले प्राधिकरणको डिजी (महानिर्देशक) भएकाले कसैले स्पष्टीकरण दिँदैमा जवाफ नदिने उनले बताएका छन् ।
मन्त्री किरातीले असार ११ गते ९ बुँदामा महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै एक हप्ते स्पष्टीकरण सोधेका थिए । तर, महानिर्देशक अधिकारीले उक्त स्पष्टीकरणको कुनै जवाफ नदिने अडान लिएका छन् ।































