काठमाडौं -नेपालमा जुलाई महिनामा विदेशी पर्यटक आगमन २.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष जुलाईमा ७० हजार १९३ जना पर्यटक आएकोमा यस वर्षको सोही अवधिमा यो संख्या बढेर ७१ हजार ७७५ पुगेको हो ।
यद्यपि, यो संख्या अघिल्लो महिना जुनको तुलनामा २१.४३ प्रतिशतले कम हो ।
सन् २०१९ को जुलाईमा नेपालमा ७८ हजार ३२९ जना विदेशी पर्यटक आएका थिए । उक्त वर्षलाई नेपालको पर्यटन क्षेत्रको आधार वर्ष मानिन्छ ।
सन् २०२६ को पहिलो सात महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ६ लाख ९२ हजार ८८७ पुगेको छ । यो गत वर्षको सोही अवधिको ६ लाख ४७ हजार ८८२ को तुलनामा ६.८४ प्रतिशतले बढी हो ।
जुलाईमा भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटक स्रोत बजार बनेको छ । भारतबाट २३ हजार ४९० पर्यटक नेपाल आएका छन् । त्यसपछि चीनबाट ११ हजार ९९, अमेरिकाबाट ७ हजार ७५४, बंगलादेशबाट ४ हजार १७९ र बेलायतबाट ३ हजार ७७३ पर्यटक आएका छन् ।
क्षेत्रगत रूपमा जुलाईमा दक्षिण एसियाली मुलुकबाट आएका पर्यटकको हिस्सा सबैभन्दा धेरै ४१.५ प्रतिशत रहेको छ । त्यसपछि अन्य एसियाली मुलुकबाट २४.३ प्रतिशत, युरोपबाट १२.९ प्रतिशत र अमेरिकी महादेशबाट १२.३ प्रतिशत पर्यटक आएका छन् ।
पर्यटन बोर्डका अनुसार सन् २०२६ मा मार्च महिनामा सबैभन्दा धेरै एक लाख २० हजार ५१६ पर्यटक आएका थिए । त्यसपछि अप्रिल, मे र जुनमा क्रमशः पर्यटक आगमन घट्दै गएको थियो ।
सन् २०२५ मा नेपालमा कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक आएका थिए भने सन् २०१९ मा कोभिडअघिको समयमा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए ।


































