काठमाडौं। हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा पर्यटक आगमनमा सामान्य गिरावट देखिएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार साउनदेखि माघसम्म कुल ३ लाख २५ हजार ५५८ जना स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।
यस अवधिमा ६९ हजार ८१४ जना विदेशी र २ लाख ५२ हजार ६६४ जना स्वदेशी पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुगेका हुन्। महिनागत रूपमा हेर्दा साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार ४ जना पर्यटक भित्रिएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा (साउनदेखि माघसम्म) ३ लाख ४० हजार ७२९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। यस आधारमा चालु वर्षमा १८ हजार १७१ जना अर्थात् ५.३३ प्रतिशतले पर्यटक संख्या घटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वार्षिक तथ्यांक हेर्दा मुस्ताङमा पर्यटक आगमन तीव्र रूपमा बढ्दै आएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ५४ हजार ३२६ जना पर्यटक भित्रिएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर ७ लाख ५ हजार ७७९ पुगेको थियो।
पर्यटन व्यवसायीहरूका अनुसार सडक अवस्था, मौसमीय प्रभाव र समग्र आर्थिक गतिविधिको प्रभावका कारण चालु वर्षमा पर्यटक आगमनमा केही कमी आएको हुनसक्ने अनुमान गरिएको छ। तथापि, मुस्ताङ अझै पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित छ।


































