काठमाडौँ । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्लाको काँडा कोटमा मङ्गलवार बिहान नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार टावर मर्मतका लागि कैलालीको अत्तरियाबाट आएको जिप सडकबाट ८० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनामा परेर मृत्यु हुनेको सनाखत हुन सकेको छैन।
घाइतेलाई उपचारका लागि ल्याउन एम्बुलेन्स पठाइएको प्रहरी निरीक्षक चौधरीले बताए। चौधरीले हालसम्म दुर्घटनाको कारण बारे थाहा नभएको र घाइते दुई जनामध्ये एक जनाको अवस्था गम्भीर देखिएको जानकारी दिएका छन् ।


































