काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सञ्चालक समितिको जेठ २८ गते बसेको बैठकले आगामी असार २२ गते धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने तय गरेको हो।
सभामा संस्थाको सेयर संरचनामा परिवर्तन गर्ने विषयका साथै अन्य लघुवित्त संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रस्ताव मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ। यस्ता प्रक्रियाका लागि आवश्यक प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
त्यसैगरी, नियामक निकायबाट आउने सुझाव वा निर्देशनअनुसार संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि सभामा पेश हुनेछ।
वार्षिक साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, सोही अवधिको लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय प्रतिवेदनहरू अनुमोदन गरिनेछन्। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छलफलमा रहनेछ।
साथै, संस्थापक सेयरधनी समूह ‘क’ बाट चार जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट रिक्त एक जना सञ्चालकको बाँकी कार्यकालका लागि निर्वाचन गर्ने कार्यक्रम पनि तय गरिएको छ।
सभाको प्रयोजनका लागि संस्थाले असार ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार १० गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।
































