काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आफ्नो आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गते शुक्रबार साधारण सभा गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजे सुरु हुनेछ।
सभाले कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट निर्वाचित सञ्चालक लिमा अधिकारी आचार्यले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि उनको स्थानमा सोही समूहको प्रतिनिधित्व गर्ने गरी सञ्चालक समितिको निर्णयबाट नियुक्त अनिता रायमाझीको नियुक्तिलाई बाँकी कार्यकालका लागि अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने एजेन्डा रहेको छ।
साधारण सभा तथा प्रस्तावित लाभांश प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १३ गतेसम्म कायम सेयरधनीहरू साधारण सभामा सहभागी हुन तथा प्रस्तावित नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


































