काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश–२०८२ स्वीकृत गरेसँगै ऊर्जा क्षेत्रको दीर्घकालीन नीतिगत बहसले औपचारिक रूप पाएको छ। झण्डै दुई दशकदेखि छलफलमा रहेको यो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएसँगै अब यसको वास्तविक चुनौती कार्यान्वयनमा केन्द्रित भएको छ।
पेट्रोलमा इथानोल मिसाउने सरकारी निर्णयले इन्धन आयातमा निर्भरता घटाउने, वैदेशिक मुद्रा बचत गर्ने र स्वदेशी कच्चा पदार्थको उपयोग बढाउने अपेक्षा गरिएको छ। आयल निगमका अनुसार हाल प्रयोग हुने पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने प्राविधिक आधार तयार छ।
के हो इथानोल ?
इथानोल जैविक स्रोतबाट उत्पादन हुने एक प्रकारको इन्धन हो, जसलाई ‘बायो–फ्युल’ पनि भनिन्छ। इथानोल मुख्यतः उखुको मोलासिस (खुदो जस्तो पदार्थ) र सिमल तरुलजस्ता कच्चा पदार्थबाट उत्पादन गर्न सकिन्छ। यी स्रोतबाट तयार पारिएको इथानोललाई १० प्रतिशतसम्म पेट्रोलसँग मिश्रण गरी सवारी साधनमा प्रयोग गर्न सकिन्छ।
पेट्रोलमा इथानोल मिसाउँदा के फाइदा हुन्छ ?
इथानोल जैविक स्रोतबाट उत्पादन हुने इन्धन भएकाले यसलाई पेट्रोलसँग मिश्रण गर्दा आर्थिक, वातावरणीय र प्राविधिक हिसाबले बहुआयामिक लाभ हुने जानकारहरू बताउँछन्।
सबैभन्दा ठूलो फाइदा इन्धन आयातमा निर्भरता घट्नु हो। हाल नेपालले प्रयोग गर्ने पेट्रोल शतप्रतिशत आयात गर्नुपर्छ। पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकियो भने त्यति मात्रामा पेट्रोल आयात घट्नेछ। यसले वैदेशिक मुद्रा बचत गर्न सहयोग पुग्ने र देशको व्यापार घाटा कम गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।
https://aarthikvoice.com/archives/80505
इथानोल मिश्रणले वातावरणीय प्रदूषण कम गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ। पेट्रोलको तुलनामा इथानोल जल्दा कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइडजस्ता हानिकारक ग्यासको उत्सर्जन कम हुन्छ। यसले सहरमा बढ्दो वायु प्रदूषण नियन्त्रणमा मद्दत गर्ने र वातावरणमैत्री इन्धन प्रयोगतर्फ देशलाई अघि बढाउने विश्वास गरिएको छ।
सवारी साधनको प्रदर्शनमा पनि इथानोल मिश्रणका सकारात्मक असर देखिने बताइन्छ। इथानोलले इन्धनको दहन प्रक्रिया सुधार गर्ने भएकाले इन्जिनको कार्यक्षमता बढ्ने, माइलेजमा सुधार आउने र इन्जिन सफा राख्न सहयोग पुग्ने जानकारहरूको भनाइ छ। उचित गुणस्तरको इथानोल प्रयोग भए सवारी साधनको इन्जिनमा नकारात्मक असर नपर्ने बताइन्छ।
कृषि र उद्योग क्षेत्रका लागि पनि इथानोल मिश्रण फाइदाजनक हुने देखिन्छ। नेपालमा इथानोल मुख्यतः उखुको मोलासिस ९खुदो० र सिमल तरुलजस्ता कच्चा पदार्थबाट उत्पादन गर्न सकिन्छ। यसले उखु किसान र चिनी उद्योगलाई नयाँ बजार र आम्दानीको अवसर प्रदान गर्नेछ। कृषि उपजको व्यवसायीकरण बढ्ने र स्वदेशमै रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार पेट्रोलमा इथानोल मिश्रण दीर्घकालीन रूपमा स्वच्छ ऊर्जातर्फको महत्वपूर्ण कदम हो। फोसिल इन्धनको प्रयोग क्रमशः घटाउँदै जैविक इन्धनतर्फ उन्मुख हुन सके नेपालको अर्थतन्त्र र वातावरण दुवैलाई दीर्घकालीन लाभ पुग्ने विश्वास गरिएको छ।
अर्बौ रुपैयाँको पेट्रोल आयात कटौती गर्न सकिने
पेट्रोलमा इथानोलको प्रयोग सम्भव भए नेपालले विदेशबाट भित्र्याउने पेट्रोलको परिमाण उल्लेखनीय रूपमा घटाउन सक्ने देखिएको छ। नेपाल आयल निगमको आन्तरिक अध्ययनअनुसार इथानोल मिसाइएको पेट्रोल बिक्री गर्दा देशभर दैनिक करिब चार लाख लिटर पेट्रोलको खपत कम हुन सक्छ।
यो परिमाणलाई वार्षिक हिसाबले हेर्दा झण्डै १४ करोड ४० लाख लिटर पेट्रोल आयात आवश्यक नपर्ने अनुमान गरिएको छ। हाल निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल खरिद गरी बजारमा आपूर्ति गर्दै आएको छ।
आइओसीसँग प्रतिलिटर पेट्रोल खरिद गर्दा निगमले औसतमा करिब ८५ रुपैयाँ तिर्दै आएको छ। यही दरलाई आधार मान्दा इथानोल मिश्रण कार्यान्वयन भए वर्षेनी करिब साढे १२ अर्ब रुपैयाँ बराबरको पेट्रोल आयात कटौती गर्न सकिने देखिएको छ।
पेट्रोलमा इथानोल मिश्रण गर्ने सरकारी निर्णयले नेपालका लागि आर्थिक, वातावरणीय र ऊर्जा सुरक्षासम्बन्धी बहुआयामिक फाइदा पुर्याउने अपेक्षा गरिएको छ। यसले पेट्रोल आयातमा निर्भरता घटाएर अर्बौं रुपैयाँ बचत गर्न मद्दत पुर्याउनेछ भने स्वदेशी कच्चा पदार्थको उपयोग बढाएर कृषि र उद्योग क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नेछ।
यद्यपि, यसको सफलता मुख्यत उत्पादन क्षमता, मूल्य निर्धारण, कर संरचना र गुणस्तर सुनिश्चिततामा निर्भर रहनेछ। दीर्घकालीन दृष्टिले हेर्दा इथानोल मिश्रण नेपाललाई स्वच्छ ऊर्जा प्रयोगमा अगाडि बढाउने महत्वपूर्ण कदमका रूपमा मान्न सकिन्छ।


































