National life

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१३ असोज २०८३, मङ्गलबार
301Shares
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’
ncell

पाँचथर । पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।

सुकबहादुरका छिमेकी धनमाया बेघाको करेसाबारीमा पनि अलैँचीखेती छ। उनले आफ्नो बारीको अधिकांश ठाउँमा अलैँची लगाएकी छन्।

Royal Enfield
nic asia capital
सोही वडाको बिरुवाका बालनन्द बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ।

बजारमा राम्रो मूल्य पाउन थालेपछि दुर्गम ग्रामीण क्षेत्रका किसानले अलैँचीलाई मुख्य बालीका रूपमा विस्तार गरिरहेका छन्। धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीखेती विस्तार गरेका सुकबहादुर अलैँचीले परिवार पाल्न सहज भएको बताउँछन्।

“हामीलाई पाल्ने र बचाउने नै यही हो। हामीले नगद पाउने बाटो अलैँची मात्रै हो,” उनले भने, “अलैँची फलाए मात्रै साहुले पनि पत्याउँछन्। यो खेती गर्नेले जे मागे पनि दिन्छन्।” अलैँची उत्पादन गर्ने किसानले स्थानीय ग्रामीण बजारबाट वर्षभरि सामग्री खरिद गर्दा उधारोसमेत पाउने गरेको उनको भनाइ छ।

अलैँचीबाट जीविकोपार्जन सहज भएपछि किसानले यसलाई प्राथमिकतामा राखेका छन्। सुकबहादुरका अनुसार अलैँची किसानको इज्जतसँग पनि जोडिएको छ। “हाम्रो इज्जत राख्ने अलैँची भयो। रच्छ्यान, घुर्‍यान, धानखेती हुने सबै ठाउँमा अलैँची लगाएका छौँ,” उनले भने।

किसान अलैँचीखेतीतर्फ आकर्षित हुनुको मुख्य कारण यसको राम्रो मूल्य पनि हो। गत वर्षदेखि अलैँची प्रतिमन (४० किलोग्राम) ८० हजार रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ।

“प्रतिमन ८० हजार रुपैयाँसम्म पाइयो भने त राम्रो हो। त्यसो हुँदा प्रतिकिलो दुई हजार रुपैयाँ बराबर पर्न जान्छ। त्यति रकम कुनै पनि अन्नबालीबाट प्राप्त हुँदैन,” सुकबहादुरले भने, “अलैँचीले राम्रो भाउ पाए हामीलाई फाइदा नै हुन्छ।”

धनमाया बेघाले पनि खेतबारी मासेर अलैँचीखेती विस्तार गरेकी छन्। “अलैँचीको भाउ पनि राम्रै छ। हातमुख जोड्ने बाटो नै यही भएको छ,” उनले भनिन्।

तर, यस वर्षको अविरल वर्षाले उनको अलैँचीखेतीमा ठूलो क्षति पुर्‍याएको छ। गत जेठ ८ गते पहिरो झरेर खोलाखोल्सीमा रहेको उनको मुख्य अलैँची बगान बगाएको थियो।

“अहिलेसम्म यति ठूलो क्षति कहिल्यै भएको थिएन,” धनमायाले भनिन्, “खेतबारी मासेर लगाइएको अलैँची चाहिँ बाँकी रह्यो। त्यसैबाट अलिकति आम्दानी गर्न सकिएला कि।”

सोही वडाका पूर्णबहादुर बेघाका अनुसार धान, मकै र कोदोखेती गर्दा लागतसमेत नउठ्ने भएकाले किसान अलैँचीतर्फ आकर्षित भएका हुन्।

चाम्लिङडाँडाका रामकुमार राईको पनि विसं २०८० असार र गत जेठमा पहिरो झरेर झन्डै ३० मन अलैँची फल्ने बारी बगाएको छ। अलैँची उत्पादन रोकिएपछि आफ्नो आयस्रोतको अन्य बाटो नरहेको उनी बताउँछन्।

“यहाँका बासिन्दा अलैँचीकै कारण गाउँमा अडिएका हौँ। अन्यथा खान पनि नपुग्ने भएर सबै हिँडिसकिन्थ्यो होला,” राईले भने, “हाम्रो दैनिक जीवन नै अलैँचीमा आधारित भएको छ।”

उनका अनुसार याङवरक–१ मात्रै होइन, पाँचथरका ४० भन्दा बढी वडामा अलैँची उत्पादन हुँदै आएको छ।

कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा कुल ३ हजार ३२६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिएको थियो। सो अवधिमा १ हजार ३९६.९२ मेट्रिक टन अलैँची उत्पादन भएको केन्द्रका कृषि प्रसार अधिकृत प्रदीप नेपालीले जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
301SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?