काठमाडौं । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले नेपालको कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक आँकलनअनुसार बाढीका कारण १ हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
बाढीबाट क्षतिग्रस्त जमिनमध्ये १ हजार ६६९ हेक्टर धानखेती र १३७ हेक्टर तरकारी खेती रहेको छ । कृषि उत्पादनतर्फ मात्रै करिब ७ हजार ६८६ मेट्रिक टन क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बाढीपहिरोका कारण पशुपन्छीतर्फ पनि ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार ४ हजार ७५० भन्दा बढी पशुचौपाया तथा ५४ हजार कुखुरा मरेका छन् ।
त्यस्तै, बाढीले करिब एक सय माछापोखरीमा समेत क्षति पुर्याएको संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । यसबाट बाढीपहिरोले कृषि उत्पादनसँगै पशुपालन र मत्स्य व्यवसायमा समेत गम्भीर असर पारेको देखिएको छ ।


































