National life
cg eloctronics

सर्वोच्चको आदेश : तीन महिनाभित्र गाँजाको नियन्त्रित खेती र उत्पादनको व्यवस्था गर्नू

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२५ दिन अगाडि|१६ कात्तिक २०८३, सोमबार
1.7kShares
सर्वोच्चको आदेश : तीन महिनाभित्र गाँजाको नियन्त्रित खेती र उत्पादनको व्यवस्था गर्नू
muktinatha bikash bank

काठमाडौं । औषधीय, वैज्ञानिक तथा औद्योगिक प्रयोजनका लागि गाँजाको नियन्त्रित खेती र उत्पादन गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। अदालतले यसका लागि आवश्यक कानुनी व्यवस्था, नियमावली, मापदण्ड र कार्यविधि तीन महिनाभित्र तयार गरी लागू गर्न परमादेश जारी गरेको हो।

न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। २०८२ जेठ ४ गते भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा फैसलासम्बन्धी मिसिल फेला पर्न सकेको थिएन। त्यसैले फैसलाको पूर्णपाठ सार्वजनिक हुन ढिलाइ भएको हो।

अदालतले लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले गाँजामाथि प्रतिबन्ध लगाए पनि औषधीय, वैज्ञानिक तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित खेती र उत्पादन गर्न सकिने कानुनी आधार रहेको व्याख्या गरेको छ। तर, ऐनको व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक नियमावली र कार्यविधि सरकारले नबनाउँदा सम्भावना उपयोग हुन नसकेको अदालतको निष्कर्ष छ।

everest bank

पूर्णपाठमा गाँजाको खेती, उत्पादन, प्रशोधन, भण्डारण, प्रयोग, बिक्री वितरण तथा निकासी–पैठारीका लागि इजाजतपत्र दिने व्यवस्था गर्न सरकारलाई भनिएको छ। साथै, गैरकानुनी खेती र कारोबार नियन्त्रण गर्न कडा नियमन तथा निगरानी संयन्त्र बनाउनुपर्ने आदेशमा उल्लेख छ।

अदालतले गाँजाको औषधीय उपयोग र औद्योगिक सम्भावनालाई समेत फैसलाको आधार बनाएको छ। परम्परागत रूपमा पूर्वीय समाजमा गाँजाको औषधीय प्रयोग हुँदै आएको उल्लेख गर्दै यसबाट औषधि, कपडा, कागज, तेललगायत सामग्री उत्पादन गर्न सकिने सम्भावना औंल्याएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि अदालतले आफ्नो व्याख्यामा समेटेको छ। संयुक्त राष्ट्रसंघको लागू औषधसम्बन्धी आयोगले सन् २०२० मा गाँजालाई सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१ को अनुसूची ४ बाट हटाएको विषय फैसलामा उल्लेख छ।

अदालतले क्यानडा, अमेरिका, न्युजिल्यान्ड र भारतलगायत देशमा गाँजाको औषधीय तथा औद्योगिक प्रयोगका लागि अपनाइएका कानुनी व्यवस्थालाई पनि तुलनात्मक आधार बनाएको छ। विशेषगरी क्यानडाले सन् २०१८ मा क्यानाबिस ऐनमार्फत यसको प्रयोगलाई नियमन गरेको र भारतका केही राज्यमा औद्योगिक तथा औषधीय प्रयोजनका लागि खेती गर्न अनुमति दिइएको उदाहरण प्रस्तुत गरिएको छ।

यद्यपि, अदालतले गाँजाको अनियन्त्रित प्रयोगबाट स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पर्न सक्ने जोखिमलाई पनि बेवास्ता गरेको छैन। नियमित प्रयोगले केही व्यक्तिमा स्वास्थ्य समस्या निम्त्याउन सक्ने र पारिवारिक तथा सामाजिक जीवनमा असर पार्न सक्ने भएकाले यसको खेती र प्रयोगलाई कडा नियमनभित्र राख्नुपर्ने अदालतको ठहर छ।

अदालतले मनोरञ्जनात्मक प्रयोजनका लागि गाँजाको प्रयोगलाई भने विद्यमान कानुनले निषेध गरेको स्पष्ट पारेको छ। यस विषयमा कानुनी व्यवस्था परिवर्तन गर्नुपर्ने आवश्यकता देखिए विज्ञ तथा सरोकारवालासँग परामर्श गर्न पनि सरकारलाई सुझाव दिएको छ।

यसअघि गाँजा खेतीलाई वैधानिकता दिई नियमन गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको थियो। उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत सरकारी निकायलाई विपक्षी बनाइएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?