काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया मल खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कम्पनीले बिहीबार सूचना जारी गर्दै युरिया ४६–०–० खरिदका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो।
कम्पनीका अनुसार बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्नेछन्। खरिद गरिने युरिया मल भारतका कोलकाता वा हल्दिया बन्दरगाह हुँदै नेपाल ल्याइनेछ।
आपूर्तिकर्ताले मललाई डीडीपी नेपाल आधारमा विराटनगर, वीरगन्ज र भैरहवास्थित कृषि सामग्री कम्पनीका गोदामसम्म पुर्याउनुपर्नेछ। मल अन्तिम गन्तव्यसम्म ढुवानी गर्दा लाग्ने बिमा पनि आपूर्तिकर्ताले नै गर्नुपर्नेछ।
कम्पनीले बोलपत्र कागजात खरिदका लागि ४ लाख रुपैयाँ शुल्क तोकेको छ। यस्तै, बोलपत्र जमानतबापत २० हजार अमेरिकी डलर बराबरको रकम बुझाउनुपर्नेछ।
बोलपत्रसम्बन्धी पूर्वबोलपत्र बैठक अक्टोबर १६, २०२६ मा दिउँसो २ बजे कम्पनीको कुलेश्वरस्थित प्रधान कार्यालयमा आयोजना हुने जनाएको छ।
इच्छुक तथा योग्य बोलपत्रदाताले अक्टोबर २६, २०२६ को दिउँसो १ बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ।

































