काठमाडौं । अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्स इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा)को अपरेसनल सेफ्टी अडिट प्रोग्राम (आईओएसए)मा दर्ता भएको छ ।
हिमालयन एयरलाइन्स आईओएसमा दर्ता हुने पहिलो नेपाली वायुसेवा बन्न पुगेको छ । नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न सकेको यो वायुसेवाले २८ डिसेम्बर २०२३ मा आईओएसमा दर्ता भएको छ । यसमो मान्य अवधि ३ मार्च २०२५ सम्म रहेको पनि हिमालयन एयरलाइन्सले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
हिमालयन एयरलाइन्सका लागि आईओएसए प्रमाणीकरणले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभुति प्रदान गर्ने दाबी सम्बन्धित वायुसेवाको जनाएको छ ।यो प्रणपत्र पाउनुमा हिमालय एयरलाइन्सले हवाई उडान सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गरेको पनि हिमालयनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउनु उड्डयन उद्योगकै लागि सकारात्मक भएको बताएका छन् । हवाई सुरक्षा र अपरेसनमा उत्कृष्ट सेवा प्रदान गर्न यस्तो प्रमाणपत्रले हिमालयलाई थप उत्साहित बनाउने पनि श्रेष्ठको विश्वास छ ।


































