काठमाडौं। थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुःन सुरु गरेको आधिकारिक रुपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो ।
नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रीहरुलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो ।
थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो ।
हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएकोछ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् ।
थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले वायुसेवा पुःन सुचारुको वारेमा बोल्दै भने, “काठमाडौं र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो। यो सेवाले नेपाललाई थाइल्याण्ड लगाएत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ । हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ, र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौं।”
सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका एक्जिक्युटिभ चेयरम्यान र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रवि चन्द्र सिंहले भने, “ काठमाडौं र बैंककलाई उडान मार्फत जोड्दै हाम्रो सेवाहरू पुनः सुरु गर्न पाउँदा हामी हर्षित छौं। सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको छ। हाम्रो सेवाहरूले नेपाल र थाइल्याण्ड बीच उडान गर्ने यात्रुहरूलाई सहज र रमाइलो यात्रा अनुभवहरू प्रदान गर्नेछ।”
हाल थाई एयरवेजसँग कूल ७३ विमान छन् जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् ।


































