काठमाडौं – ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (MHPL) को सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखी क्रेडिट रेटिङ्ग अपग्रेड गरेको छ। कम्पनीको दीर्घकालीन कर्जा रेटिङ्ग LBB+ बाट बढाएर LBBB- गरिएको छ भने अल्पकालीन रेटिङ्ग A4+ बाट सुधार भई A3 पुगेको छ।
यस रेटिङ्ग अपग्रेडले MHPL को समग्र क्रेडिट प्रोफाइल सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउँछ। कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङ्गको क्षेत्रमा राम्रो रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ।
MHPL ले नाफा आर्जनको स्तर पनि सन्तुलित रूपमा कायम राखेको छ।
पाँच दशकभन्दा लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित एमएडब्लू ग्रुपको हिस्सा हुनु पनि MHPL को लागि थप बलियो पक्ष हो। यो समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डहरूसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको छ।
एमएडब्लू हायर पर्चेज प्रा.लि.को बारेमा
सन् २०११ मा स्थापना भएको एम.ए.डब्लू. हायर पर्चेज प्राइभेट लिमिटेड (MHPL) नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको बृहत् मार्गदर्शन अनुसार सञ्चालन हुँदै आएको छ। यसको केन्द्रिय कार्यालय मोरङको विराटनगरमा रहेको छ भने शाखा कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट कम्पनीका मुख्य सञ्चालन गतिविधिहरू अघि बढाइन्छ। ग्राहकलाई सहज र झन्झटरहित हायर पर्चेज सेवा उपलब्ध गराउने उद्यमशील दृष्टिकोणसहित कम्पनी स्थापना गरिएको हो।


































