काठमाडौं । सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ । आर्थिक विधेयक, २०८१ मार्फत सरकारले विद्युतीय सवारीको ब्याट्री क्षमताको आधारमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म भन्सार शुल्क र १० प्रतिशतसम्म अन्तःशुल्क वृद्धि गरेको हो ।
१० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पु¥याइएको छ । सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ ।
५० किलोवाटसम्मको मोटर भएका ईभीमा पनि भन्सार बढाइएको छ भने अन्तःशुल्क लगाइने छ । उक्त मोटर क्षमता भएको ईभीमा १० प्रतिशत रहेको भन्सार महसुल १५ प्रतिशत लागिने भएको हो ।
५० किलोवाटसम्म क्षमता भएका ईभीमा ५ प्रतिशत अन्तःशुल्क पनि लगाइने भएको हो ।
५० देखि १०० किलोवाट मोटर क्षमता भएका ईभीमा भन्सार र अन्तःशुल्क दुईमा समान ५ प्रतिशतले बढाइएको छ । उक्त क्षमताका ईभीमा अनएसेम्बल्ड अन्तःशुल्क नलाग्ने व्यवस्था रहेकोमा अब १५ प्रतिशत लाग्ने भएको छ । सोही क्षमताका अन्य ईभीमा १० प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुग्दा उक्त क्षमताका अनएसेम्बल्ड र अन्य दुवैमा भन्सार १५ प्रतिशतबाट २० प्रतिशत लगाइएको छ ।
१०० देखि २०० किलोवाट क्षमतायुक्त ईभीमा भन्सार १० प्रतिशतले बढ्दा अन्तःशुल्क भने यथावत् राखिएको छ । उक्त मोटर क्षमताको अनएसेम्बल्ड ईभीमा यसअघि अन्तःशुल्क नचलाए पनि अब २० प्रतिशत लाग्ने भएको छ।
तर, १०० देखि २०० किलोवाट मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल भने २० बाट ३० प्रतिशत पुगेको हो । बढेको भन्सार अनएसेम्बल्ड र अन्य दुवैका लागि हो ।
२०० किलोवाटभन्दा बढीको मोटर क्षमता भएका ईभीमा भन्सार बढ्दा अन्तःशुल्क भने घटेको छ । उक्त मोटर क्षमता भएका ईभीमा अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा भन्सार ४० प्रतिशतबाट २० प्रतिशत बिन्दुले बढेर ६० प्रतिशत पुग्दा अन्तःशुल्क १० प्रतिशत बिन्दुले घटेको छ ।
उक्त क्षमताको अनएसेम्बल्ड ईभीमा अन्तःशुल्क शून्य रहेकोमा अब ३५ प्रतिशत लाग्ने भएको छ भने अन्यमा ४५ प्रतिशत रहेकोमा अन्तःशुल्क ३५ प्रतिशतमा घटेको हो ।
३०० किलोवाटभन्दा धेरै मोटर क्षमता भएका ईभीमा पनि २० प्रतिशत बिन्दुले भन्सार महसुल बबढ्दा अन्तःशुल्क भने १० प्रतिशत बिन्दुले घटाएको छ ।
उक्त मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल ६० बाट ८० प्रतिशत पु¥याउँदा अन्तःशुल्क भने ६० बाट ५० प्रतिशतमा घटाएको छ । यसमा अनएसेम्बल्ड भए अन्तःशुल्क नलाग्ने हालको व्यवस्थामा अब भने त्यसमा पनि ५० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ ।
यसका साथै सामान ढुवानी गर्ने ईभीमा पनि सरकारले अन्तःशुल्क लगाउने भएको छ ।


































