काठमाडौं । एजेन्सीका अनुसार होन्डा कम्पनीले आफ्ना ३ लाख युनिट कार बजारबाट फिर्ता मगाएको छ।
सिट बेल्टमा समस्या देखिएपछि होन्डाका ती कार बजारबाट फिर्ता मगाइएको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ। नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए) मा कम्पनीले पठाएको सूचनामा अक्कर्डस र एचआर–भी कारको फ्रन्ट सिट बेल्टमा समस्या देखिएपछि बजारबाट फिर्ता मगाइएको उल्लेख छ।
कार बजारमा फिर्ता ल्याउन कम्पनीले सम्बन्धित क्षेत्रहरुमा सूचना पनि पठाइसकेको छ।
होन्डाले एनएचटीएसएमा पठाएको सूचनामा गत मे महिनामा सिट बेल्टमा देखिएको समस्याका बारेमा जानकारी प्राप्त भएको जनाएको छ। त्यसपछि समस्या देखिएको सिट बेल्टका केही नमुना संकलन गरी अनुसन्धान गरेको होन्डाले जनाएको छ।
यसअघि गत नोभेम्बरमा पनि कम्पनीले बजारबाट २ लाख ५० हजार युनिट कार बजारबाट फिर्ता मगाएको थियो। ती कार उत्पादनमा त्रुटि देखिएकोले इन्जिनमा समस्या आउने देखेर कम्पनीले फिर्ता मगाएको थियो।


































