काठमाडौँ । भदौ १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि ब्लू स्ट्रीक्स मोटरसाइकल ग्रुपले राहत अभियान सञ्चालन गरेको छ ।
बाढीका कारण दर्जनौँ पुलमा क्षति पुग्नुका साथै हजारौँ घर डुबानमा परेपछि प्रभावित परिवार आधारभूत आवश्यकताबाट समेत वञ्चित भएका थिए । यस्तो कठिन परिस्थितिमा ब्लू स्ट्रीक्सका राइडरहरूले आफ्ना सदस्यहरूबाट सहयोग रकम संकलन गरी राहत अभियान सञ्चालन गरेका हुन् ।
समूहले आफ्ना सदस्यहरूबाट कुल ९३ हजार रुपैयाँ संकलन गरेको थियो ।
संकलित रकमबाट चामल, दाल, मिनरल वाटर, स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री खरिद गरी राहत प्याकेज तयार गरिएको थियो । भारी वर्षाका बीच पनि समूहका सदस्यहरूले राहत सामग्री तयार गरी गाडी तथा मोटरसाइकलको समूह बनाएर प्रभावित क्षेत्रसम्म पुर्याएका थिए ।
एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले ब्लू स्ट्रीक्सका राइडरहरू राइडिङसँगै सामाजिक सेवामा समेत सक्रिय रहेको बताए । उनले कठिन परिस्थितिमा आवश्यक परेका नागरिकको साथमा ब्लू स्ट्रीक्स निरन्तर उभिइरहने बताए ।
राहत सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो । समूहका सदस्यहरूले त्यहाँ बाढीपीडित परिवार, विशेषगरी ज्येष्ठ नागरिक तथा बालबालिकालाई राहत सामग्री उपलब्ध गराउनुका साथै उनीहरूसँग प्रत्यक्ष भेट गरी हौसला प्रदान गरेका थिए ।
बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम जारी रहेका बेला ब्लू स्ट्रीक्सको यो पहलले सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उदाहरण प्रस्तुत गरेको छ ।



































