काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घटाउने निर्णय गरेको छ। डिजेलको मूल्यमा आएको गिरावटलाई आधार मान्दै विभागले भाडादर २ प्रतिशतले कम गर्ने घोषणा गरेको हो।
विभागका अनुसार डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसाबाट घटेर १९३ रुपैयाँ ८३ पैसा पुगेपछि भाडा पुनः समायोजन गरिएको हो। इन्धनको मूल्य घट्दा यात्रु तथा व्यवसायी दुवैलाई राहत दिन यस्तो निर्णय गरिएको जनाइएको छ।
यसअघि इन्धन महँगो हुँदा यात्रुवाहक र मालवाहक सवारीमा झन्डै ५ प्रतिशतसम्म भाडा वृद्धि गरिएको थियो। तर, त्यसबेला पूर्ण समायोजन हुन नसकेको भन्दै अहिले मूल्य घट्दा बाँकी प्रभावलाई समेत मिलाएर २ प्रतिशतले भाडा घटाइएको विभागले स्पष्ट पारेको छ।
नयाँ व्यवस्थाअनुसार यात्रुवाहक बस, साथै पहाडी र तराई क्षेत्रका मालवाहक सवारी साधनमा समान रूपमा २ प्रतिशत भाडा कमी हुनेछ।
यो निर्णय दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय रुटमा सञ्चालन हुने सार्वजनिक सवारीमा लागू हुनेछ। विभागका अनुसार नयाँ भाडादर असार १८ गतेदेखि लागू हुने छ।


































