मुस्ताङ । चीनसँगको कोरलानाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । मुस्ताङ भन्सार कार्यालयले वार्षिक लक्ष्यभन्दा ३ अर्ब ५५ करोड रुपैयाँ बढी राजस्व उठाएको हो ।
यस अवधिमा उक्त नाकाबाट ७ हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन् । गत वर्षभरि ३ हजार २२३ वटा इभी आयात भएकोमा चालु वर्षको चार महिनामै त्यसको दोब्बरभन्दा बढी सवारीसाधन भित्रिएका हुन् ।
भन्सार कार्यालयका अनुसार साउनमा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा ५ हजार ६४७ वटा इभी आयात भएका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट इभीसहितका मालसामान आयात बढेको हुन सक्ने भन्सार अधिकृत अमिन्द्र सिंहले बताए ।
तर, आयात भएका सवारीसाधन गन्तव्यसम्म पुर्याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभावले समस्या भइरहेको छ । यही कारण जाँचपास भएर गन्तव्यतर्फ लागेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै सडकमा रोकिएका छन् ।
भन्सार कार्यालयका अनुसार पहिलो चौमासिकमा चीनबाट ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन् । यस नाकाबाट इभी, लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक उपकरण, निर्माण सामग्री, फलफूल र खाद्यान्न आयात हुने गरेको छ ।
यसैगरी, सोही अवधिमा नेपालबाट २९ करोड ५२ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु चीनतर्फ निर्यात भएका छन् । नेपालबाट मुख्यगरी हस्तकलाका सामग्री तथा स्वदेशी उत्पादन निर्यात हुने गरेको भन्सार अधिकृत सिंहले जानकारी दिए ।


































