काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रमा डिजेल युग अन्त्य गर्ने तयारी भएको छ। सरकारले अब नयाँ सार्वजनिक बस र ट्याक्सीको दर्ता विद्युतीय सवारीसाधन (ईभी) मा मात्र सीमित गर्ने गरी नीति तथा कानुनी व्यवस्था अघि बढाएको छ। चरणबद्ध रूपमा सञ्चालनमा रहेका पुराना डिजेल सवारीलाई समेत विस्थापित गर्दै सार्वजनिक यातायातलाई पूर्ण रूपमा विद्युतीय बनाउने सरकारको योजना छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यातायात व्यवसायीसँगको छलफलका क्रममा छोटो तथा लामो दूरीका बसदेखि ट्याक्सीसम्म सबै सार्वजनिक सवारीलाई क्रमशः विद्युतीय बनाउने सरकारको नीति रहेको जानकारी दिए।
उनका अनुसार अब नेपालमा भन्सारबाट प्रवेश गर्ने नयाँ सार्वजनिक बस र ट्याक्सीलाई अनिवार्य रूपमा विद्युतीय बनाउने तयारी भइरहेको छ। सञ्चालनमा रहेका पुराना डिजेल सवारीसाधनलाई समेत चरणबद्ध रूपमा स्क्र्याप गर्दै ईभीमा रूपान्तरण गर्ने योजना सरकारको छ।
यसका लागि व्यवसायीलाई प्रोत्साहन गर्न स्क्र्याप भ्यालु, सहुलियतपूर्ण कर्जा, अनुदान तथा भन्सार छुटजस्ता सुविधा उपलब्ध गराउने विषयमा छलफल भइरहेको मन्त्री लम्सालले बताए। उनले सरकारको नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी स्पष्ट खाकासहित ऐनको मस्यौदा प्रस्ताव गर्न व्यवसायीलाई आग्रह गरेका छन्।
सरकारले गत जेठ ७ गतेदेखि सार्वजनिक यात्रुवाहक सवारीसाधन अर्थात् कालो नम्बर प्लेटका नयाँ सवारीको दर्ता रोकेको छ। मन्त्री लम्सालले भविष्यमा ईभी अनिवार्य गर्ने तयारी रहेकाले व्यवसायीले अहिले नयाँ डिजेल गाडी खरिद गर्दा पर्ने सम्भावित आर्थिक क्षति रोक्न अग्रिम रूपमा दर्ता बन्द गरिएको बताए।
डिजेलको मूल्यमा हुने अनिश्चित वृद्धिबाट व्यवसायीलाई जोगाउन पनि विद्युतीय सवारीतर्फ जानुपर्ने सरकारको तर्क छ।
यसैगरी, सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बस र्यापिड ट्रान्जिट (बीआरटी) मोडल लागू गर्ने तयारी गरेको छ। हाल अव्यवस्थित रूपमा सञ्चालन भइरहेका बसलाई एउटै प्रणालीमा आबद्ध गरी यात्रुलाई गुणस्तरीय सेवा र व्यवसायीलाई सुनिश्चित आम्दानी दिलाउने लक्ष्य सरकारको छ।
एसियाली विकास बैंक (एडीबी) को समन्वयमा पहिलो चरणमा पोखरा, त्यसपछि काठमाडौं र लुम्बिनीमा सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
हाल नेपालमा निजी कारको बजारमा विद्युतीय सवारीको हिस्सा ७० प्रतिशतभन्दा माथि पुगे पनि ठूला सार्वजनिक सवारीसाधनमा ईभीको प्रयोग भने अझै न्यून छ।


































