काठमाडौँ - भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा अपेक्षाभन्दा बढी अवलोकनकर्ता पुगेपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी थालेको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मेला अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो । तर, एक्सपोको चौथो दिनसम्मै १ लाख ८ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् । बिदाका दिन अझ बढी भिड हुने अनुमान गर्दै आयोजकले विशेष गरी पार्किङ व्यवस्थापनमा ध्यान केन्द्रित गरेको जनाएको छ ।
नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले सुरुवाती दिनमै भृकुटीमण्डप क्षेत्रका खुला स्थान तथा नेपाल पुलिस क्लब भवनका दुवै तला भरिभराउ हुँदा पार्किङमा समेत चाप परेको बताए ।
एक्सपोको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्सपो सुरु हुने समयभन्दा अगावैदेखि अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ । उनका अनुसार बिहान १० बजेदेखि नै अवलोकनकर्ता एक्सपोस्थल पुग्न थालेका छन्, जबकि एक्सपो औपचारिक रूपमा बिहान ११ बजे खुल्ने गरेको छ ।
चौथो दिनसम्म १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता
एक्सपोको उद्घाटन दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारले अवलोकन गरेका थिए । चौथो दिन मात्रै ३१ हजारभन्दा बढी अवलोकनकर्ता एक्सपो पुगेको आयोजकले जनाएको छ ।
एक्सपोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् । हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन् ।
नयाँ मोडल र ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएकाले उपभोक्ताले आफूलाई आवश्यक सवारीसाधनको मूल्य, फिचर र सुविधाबीच तुलना गर्न सहज भएको आयोजकको भनाइ छ । दुईपाङ्ग्रे सवारीसाधनतर्फ पनि उल्लेख्य भिड देखिएको छ । विशेषगरी प्रिमियम तथा महँगा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधनमा युवाको आकर्षण देखिएको छ ।
ब्याट्री, रेन्जदेखि रिसेल भ्यालुसम्म चासो
अवलोकनकर्ताले सवारीसाधन खरिदका क्रममा ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालु लगायतका विषयमा बढी चासो राखेका छन् ।
ग्राहक आकर्षित गर्न विभिन्न कम्पनीले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायतका सुविधा उपलब्ध गराएका छन् । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले समेत एक्सपोस्थलबाटै सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।
ब्याट्री रिसाइकल र इथानोल ब्लेन्डिङमा छलफल
एक्सपोअन्तर्गत सञ्चालन भइरहेको नाइमा मोबिलिटी संवादमा शुक्रबार ‘टेक्निकल : ब्याट्री रिसाइकल एन्ड इथानोल ब्लेन्डिङ इन फ्युल’ विषयमा छलफल भएको छ ।
लक्ष्मी ग्रुपका महाप्रबन्धक दीपक थपलियाको सहजीकरणमा भएको छलफलमा भेइकल फिटनेस टेस्ट सेन्टरका सिनियर डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठ, म्यानेजमेन्ट एन्ड होमोलोगेसन एक्सपर्ट प्राडा. बलराज भनोट, लोहम क्लिनटेक प्रालि भारतका बिजनेस पार्टनरसिप्स एजीएम जतिन मक्कर, अटोमोबाइल इन्डस्ट्री एन्ड मोबिलिटी सेक्टर एक्सपर्ट आकाश गोल्छा, एसोसिएसन फर अटोमोबाइल एन्ड मोबिलिटी–ज्याम नेपालका निवर्तमान अध्यक्ष सागर गजुरेल तथा रिब्याटका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत करण खुराना सहभागी थिए ।
यसअघि बिहीबारको संवादमा ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयमा छलफल भएको थियो । बुधबारको लर्निङ सेसनमा ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा अन्तर्क्रिया भएको थियो भने एक्सपोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) : मोबिलाइजिङ–फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा छलफल भएको थियो ।
एक्सपो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न विषयमा नाइमा मोबिलिटी संवाद सञ्चालन हुने आयोजकले जनाएको छ ।
साउन ३१ सम्म सञ्चालन
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्सपो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।
एक्सपोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्ड तथा नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन् ।
एक्सपोमा ग्लोबल आईएमई बैंक को–स्पोन्सरका रूपमा रहेको छ भने रेडबुल पावर्डबाईका रूपमा रहेको छ । एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा रहेका छन् । आयोजकका अनुसार एक्सपोमा विभिन्न बैंक, बीमा, प्रविधि, चार्जिङ, राइड, स्वास्थ्य, सुरक्षा तथा व्यवस्थापन क्षेत्रका संस्थाहरूले समेत साझेदारी गरेका छन् ।


































