काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा अपेक्षाभन्दा उत्साहजनक रूपमा सवारीसाधनको बुकिङ भएको छ । भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्स्पोमा ७ हजार ५ सयभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् भने बुकिङ भएका सबै सवारी बिक्री भए करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
आयोजकका अनुसार एक्स्पो अवधिभर करिब ५ हजार ५ सय चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे गरी ७ हजार ५ सयभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् । बुकिङ भएका सबै सवारीसाधन बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ ।
एक्स्पोमा १८ लाखदेखि ४ करोड रुपैयाँसम्मका सवारीसाधन प्रदर्शनमा राखिएका थिए । विशेषगरी ३० देखि ३५ लाख रुपैयाँ मूल्य समूहका प्रवेशस्तरका सवारीसाधन तथा विद्युतीय सवारीसाधनमा ग्राहकको आकर्षण बढी देखिएको आयोजकले जनाएको छ ।
चारपांग्रे सवारीसाधनतर्फ बीवाईडीका १ हजारभन्दा बढी बुकिङ भएका छन् । टाटा र चेरी तथा किया ब्रान्डका ७ सयभन्दा बढी बुकिङ भएका छन् । त्यस्तै, वुलिङका ४ सय ४३, आईकारका ४ सय २१ र ओमोडा जेकोका करिब ३ सय ५० सवारीसाधन बुकिङ भएको जनाइएको छ ।
दुईपांग्रे सवारीसाधनतर्फ एथर, सीएक्स मोटो, याडिया, सीएफ मोटो, ट्राइम्फ र रोयल इन्फिल्डलगायतका ब्रान्डमा ग्राहकको आकर्षण बढी देखिएको थियो ।
एक्स्पोमा भएको उत्साहजनक सहभागिता र बुकिङपछि अटोमोबाइल व्यवसायीहरूले कार्यक्रम समापनका क्रममा केक काटेर तथा खुसीयाली मनाउँदै उत्साह व्यक्त गरेका थिए । आयोजकले एक्स्पोले विद्युतीय तथा आधुनिक सवारीसाधनप्रति नेपाली उपभोक्ताको बढ्दो चासोलाई समेत प्रतिबिम्बित गरेको जनाएको छ ।


































