काठमाडौं । एमएडब्लु वृद्धि ग्रुपले नेपाली बजारमा स्कोडा ब्रान्डअन्तर्गतको एसयूभी कुशाकको नयाँ संस्करण सार्वजनिक गरेको छ। कम्पनीले १.५ लिटर टिएसआई इन्जिनसहित ‘मोन्टे कार्लो’ र ‘स्पोर्टलाइन’ नामका नयाँ भेरियन्टहरू बजारमा ल्याएको जनाएको छ।
आइतबार आयोजित कार्यक्रममा कुशाकको फेसलिफ्ट संस्करण सार्वजनिक गरिएको हो।
उनका अनुसार कुशाक स्कोडा २.० प्लेटफर्ममा आधारित भई नेपालको सडक अवस्था र वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएको गाडी हो। यसअघि नै ६०० भन्दा बढी युनिट बिक्री भइसकेको उल्लेख गर्दै उनले यो मोडल नेपाली ग्राहकबीच लोकप्रिय बन्दै गएको दाबी गरे।
कम्पनीका अनुसार यो गाडी युरोपेली प्रविधिमा आधारित रहेको छ, जसले उच्च सुरक्षा, सहज ड्राइभिङ र आरामदायी यात्राको अनुभव प्रदान गर्छ। कुशाकले ग्लोबल एनक्याप परीक्षणमा पाँच तारा सुरक्षा मूल्यांकन प्राप्त गरेको र बालबालिका तथा वयस्क दुवैका लागि सुरक्षित रहेको बताइएको छ।
नयाँ संस्करणमा १.५ लिटर टिएसआई इन्जिनसँगै डीएसजी प्रविधि जडान गरिएको छ, जसले गाडीको प्रदर्शन अझ प्रभावकारी बनाउनेछ। साथै, यसमा ‘रियर मसाज’ सिटजस्ता सुविधा पनि उपलब्ध गराइएको छ, जसले यात्रालाई थप आरामदायी बनाउने कम्पनीको दाबी छ।
कम्पनीले स्कोडाको रेसिङ परम्परालाई झल्काउने ‘मोन्टे कार्लो’ भेरियन्टले प्रिमियम र स्पोर्टी डिजाइन मन पराउने ग्राहकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ।
यस गाडीको प्रारम्भिक मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकिएको छ। कम्पनीले ग्राहकहरूलाई नयाँ मोडलको अनुभव लिन परीक्षण ड्राइभमा सहभागी हुन आग्रह गरेको छ। हालसम्म नेपालभर करिब २ हजार स्कोडा गाडी सञ्चालनमा रहेको जानकारी पनि दिइएको छ।


































