काठमाडौं । चिनियाँ लक्जरी विद्युतीय सवारी ब्रान्ड स्काईवेल नेपाली बजारमा प्रवेश गरेको छ। एलआरआर मोटर्सले स्काईवेलको बीई११ मोडल नेपाल ल्याएको हो।
कम्पनीले बीई११ का दुई भेरियन्ट नेपाल ल्याएको जनाएको छ। यी दुवै भेरियन्टलाई आगामी नाडा अटो शो २०२६ को पहिलो दिन भदौ ९ गते औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
सोमबार स्काईवेलका उपाध्यक्षको उपस्थितिमा एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी तथा अटोमोबाइल क्षेत्रका व्यक्तिहरूबीच ब्रान्डको लोगो सार्वजनिक गरिएको थियो।
कम्पनीका अनुसार ७१.९८ किलोवाट घण्टा क्षमताको एनएमसी ब्याट्री भएको बीई११ ले एकपटक पूर्ण चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज दिनेछ। त्यस्तै, ५१.९१ किलोवाट घण्टा क्षमताको एलएफपी ब्याट्री विकल्पले ४१० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।
बीई११ मा १५० किलोवाट क्षमताको विद्युतीय मोटर र ८०० भोल्टको उच्च भोल्टेज प्रणाली रहेको छ। डिसी तीव्र चार्जिङमार्फत करिब ३५ मिनेटमा ब्याट्री ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।
विद्युतीय एसयूभीमा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, हावाले चिस्याउने सिटलगायत आधुनिक सुविधा समावेश छन्। पाँच सिट क्षमताको यस गाडीमा १९८ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ।
नेपालको विभिन्न भूभाग र सडक अवस्थालाई ध्यानमा राखेर उच्च ग्राउन्ड क्लियरेन्स उपयोगी हुने कम्पनीको दाबी छ।
बीई११ को मूल्य, वारेन्टी तथा अन्य व्यावसायिक विवरण भने नाडा अटो शोमा औपचारिक सार्वजनिकका क्रममा जानकारी गराइनेछ। कम्पनीले नेपाली बजारमा यसलाई प्रतिस्पर्धी मूल्यमा ल्याउने जनाएको छ।
नाडा अटो शोमा स्काईवेलको स्टल एच१९ मा रहनेछ।


































