काठमाडौं। चालु आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्मको अवधिमा नेपालमा ५ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) भित्रिएका छन् ।
६ महिनाको अवधिमा नेपालमा साढे १३ अर्ब बढीको इभि आयात भएको हो । भन्सार विभागकको तथ्यांक अनुसार चालु आवको पुस मसान्तसम्ममा १३ अर्ब ९ करोड ९७ लाख ४७ हजार रुपैयाँ बराबरको इभि आयात भएको छ । उक्त अवधिमा ५ हजार ४७८ वटा इभी नेपाल भित्रिएका हुन्।
विभागका अनुसार पुस महिनामा मात्रै ७८१ वटा इभि नेपाल आयात भएका छन् । हाल नेपालमा चीन, भारत, जर्मर्नी, कोरिया र अमेरिकाबाट विभिन्न तौल क्षमका विद्युतीय गाडी आयात हुँदै आएका छन्। यस्तै, मंसिरमा १ हजार २१० वटा गत कात्तिक महिनामा पनि ९६९ वटा, असोजमा ९१६ वटा, भदौमा १ हजार २२१ वटा र गत साउन महिनामा ३८१ वटा इभि आयात भएका थिए ।
विभागको तथ्याकं अनुसार नेपालमा सबैभन्दा धेरै इभि चीनबाट आयात हुने गरेको छ । ६ महिनाको अवधिमा चीनबाट ४ हजार २०३ वटा इभि नेपाल भित्रिएको छ । समिक्षा अवधिमा चीनबाट १० अर्ब ६३ करोड ९५ लाख ५५ हजार रुपैयाँ बरारबको इभि आयात भएका छन् ।
यस्तै, भारतबाट पनि २ अर्ब २९ करोड ८१ लाख रुपैयाँ बराबरको १ हजार २५० वटा इभि आयात भएको छ भने जर्मनीबाट १ अर्ब ३२ करोड, ८ लाख ८५ हजार रुपैयाँको १९ वटा , अमेरिकाबाट ४ वटा र कोरियाबाट २ वटा इभि आयात भएको भन्सार विभागले जनाएको छ ।


































