काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को ८ करोड इकाइको बिक्री आवेदन खुला भएको हो।
कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड २० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखि बाँकी रहने ६ करोड ८० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु आस्वा सदस्यका (आस्वा सेवा) प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा असोज १३ गते र ढिलोमा असोज २१ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

































