काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले आज (फागुन ११ गते) देखि ७ वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको छ। दीर्घकालीन लगानीका लागि आकर्षक मानिएको उक्त ऋणपत्रमार्फत फाइनान्सले कुल ५० करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।
कम्पनीले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ऋणपत्र जारी गर्नेछ। यसमध्ये ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछन् भने बाँकी २० करोड रुपैयाँ बराबरका २ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निष्काशन छिटोमा फागुन १४ गते बन्द हुनेछ भने मागअनुसार पूर्ण नभरिएमा फागुन २५ गतेसम्म खुला रहनेछ। उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनअघि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयर एनपी ट्रिपल बी माइनस (BBB-)’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। यस ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टा गरी भुक्तानी गरिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।


































