काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। कात्तिक महिनाको अन्तिम दिन अर्थात आज प्रकाशित सूचना अनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्।
कात्तिक महिनामा ९.९६४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, मंसिर महिनामा ०.३३१ प्रतिशतविन्दु घटेर ९.६३२ प्रतिशतमा झरेको छ ।
२० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् , ६ वाणिज्य बैंकहरु नेपाल बैंक, सिटिजन बैंक, सिद्धार्थ, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने एक माछापुच्छ्रे बैंकले मात्रै ब्याजदर बढाएको छ । बैंकले मंसिर महिनामा लागि लागि व्यक्तिगततर्फ १० दशमलव ६०३ कायम गरेको छ भने संस्थागत तर्फ ८.६०३ प्रतिशत कायम गरेको छ ।
मंसिरका लागि नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ९ दशमलव २२४ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव २२४ प्रतिशत, सिटिजनले व्यक्तिगत तर्फ ९ दशलमव ९५ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ९९ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ९९, लक्ष्मी सनराइज बैंकले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत, कुमारी बैंकले व्यक्तिगत तर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागत तर्फ ८ दशमलव ०१ प्रतिशत र प्राइम कमर्सियल बैंकले व्यक्तिगत तर्फ १० दशमलव २५ प्रतिशत र संस्थागत तर्फ ८ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
मंसिरका लागि सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक रहेको छ । एनआईसी एशियाले कात्तिक महिनाका तुलनामा मंसिर महिनामा ब्याजदर २.०३५ प्रतिशतविन्दुले घटाएको छ । बैंकले मंसिर महिनामा व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.९६८ प्रतिशत ब्याज दिने भएको छ । एनएमबि बैंक लिमिटेडले मंसिर महिनाका लागि ब्याजदर १.२४३ प्रतिशतभन्दा घटाएर ९.७६ प्रतिशतमा झारेको छ ।
त्यस्तै, एभरेष्ट बैंक, प्रभु बैंक , सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर महिनामा व्यक्तिगत निक्षेप तर्फ ८ दशमलव ९७ प्रतिशत र संस्थागत तर्फ ५ दशमलव २५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ९ दशमलव १ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव १ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ५१ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ५१२ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ५१२ प्रतिशत, ग्लोबल आइएमई बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ६ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले मंसिरका लागि व्यक्तिगत निक्षेप तर्फ १० दशमलव ६३ प्रतिशत र संस्थागत तर्फ ८ दशमलव ६०३ प्रतिशत ब्याजदर कायम गरेका छन् ।


































