काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रुपमा शपथ लिएका छन् । उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ लिएका हुन् ।
सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।
सरकारले ६ महिनामै अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको हो । गत सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो । उपाध्याय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव थिए । हालका अर्थ सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा पठाइएको छ ।
शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रारद्वय विमल पौडेल नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

































