National life

सिटिजन्स बैंकको नाफा ६३ प्रतिशत बढ्यो, लाभांश क्षमता कति ?

इम्पेयरमेन्ट खर्च घट्दा सिटिजन्स बैंकको नाफा उक्लियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
1.3kShares
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशत बढ्यो, लाभांश क्षमता कति ?
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब २८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको नाफा वृद्धिमा मुख्य भूमिका कर्जा तथा अन्य नोक्सानीका लागि छुट्याइएको इम्पेयरमेन्ट खर्चमा आएको कमीले खेलेको देखिन्छ। अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको यस्तो खर्च समीक्षा अवधिमा ६९.०५ प्रतिशतले घटेर ८२ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। यसबाट बैंकको खर्च करिब १ अर्ब ८५ करोड रुपैयाँले घटेको छ।

समूहगत रूपमा भने बैंक तथा उसका सहायक कम्पनीहरूले २ अर्ब १३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा समेकित खुद नाफा १ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको निक्षेप ९.५६ प्रतिशतले बढेर २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। तर, कर्जा प्रवाहमा भने खासै विस्तार हुन सकेन। बैंकको कर्जा लगानी ०.७६ प्रतिशतले मात्र बढेर १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर भएपछि बैंकको कर्जा–निक्षेप अनुपात ८१.९१ प्रतिशतबाट घटेर ७५.७२ प्रतिशतमा आएको छ। यसबीच बैंकले धितोपत्रमा गरेको लगानी भने उल्लेख्य बढाएको छ। यस्तो लगानी अघिल्लो वर्षको ४२ अर्ब २७ करोड रुपैयाँबाट बढेर ५८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी १.९० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ६ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा ६ अर्ब २९ करोड ३७ लाख रुपैयाँमा सीमित भएको हो।

बैंकको ब्याज आम्दानी १३.५३ प्रतिशतले घटेर १५ अर्ब १ करोड रुपैयाँ पुगे पनि ब्याज खर्चमा २०.३४ प्रतिशतको कमी आएको छ। निक्षेपको लागत घट्दा खुद ब्याज आम्दानीमा ठूलो गिरावट आउनबाट बैंकलाई केही राहत पुगेको देखिन्छ।

त्यस्तै, शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले बढेर १ अर्ब ४३ करोड २३ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन आम्दानी ४.१२ प्रतिशतले बढेर ८ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ पुगे पनि सञ्चालन खर्च ८.२६ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

नाफा बढे पनि बैंकको खराब कर्जा भने चिन्ताको विषय बनेको छ। बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ।

त्यस्तै, निष्क्रिय कर्जामाथिको कर्जा नोक्सानी व्यवस्था अनुपात पनि १०७.०६ प्रतिशतबाट घटेर ९५.९२ प्रतिशतमा आएको छ। यसले खराब कर्जा बढिरहेको अवस्थामा त्यसविरुद्धको सुरक्षा तह कमजोर बनेको संकेत गर्छ।

आगामी दिनमा खराब कर्जा थप बढेमा बैंकले पुनः ठूलो रकम इम्पेयरमेन्ट खर्चका रूपमा छुट्याउनुपर्ने अवस्था आउन सक्छ। त्यसले हाल देखिएको नाफा वृद्धिमा दबाब पार्न सक्ने जोखिम रहेको देखिन्छ।

नाफामा भएको सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा ८ रुपैयाँ ७१ पैसा रहेको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ।

बैंकको इक्विटीमा प्रतिफल ५.७८ प्रतिशतबाट बढेर ८.७७ प्रतिशत तथा सम्पत्तिमा प्रतिफल ०.५५ प्रतिशतबाट बढेर ०.८२ प्रतिशत पुगेको छ। बैंकको समग्र पूँजी पर्याप्तता अनुपात १२.४७ प्रतिशत तथा प्राथमिक पूँजी पर्याप्तता अनुपात ९.२३ प्रतिशत रहेको छ।

सिटिजन्स बैंकको खुद नाफा ६३ प्रतिशतले बढे पनि वितरणयोग्य नाफा भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा ७७ करोड ८२ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा समीक्षा अवधिमा ३२.७८ प्रतिशतले घटेर ५२ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकले विभिन्न नियामकीय व्यवस्थाअनुसार सामान्य जगेडा कोष, पूँजीगत मोचन जगेडा तथा अन्य शीर्षकमा रकम छुट्याएको छ। प्राप्त हुन बाँकी ब्याज, गैरबैंकिङ सम्पत्ति, स्थगित कर सम्पत्तिलगायतका समायोजनका कारण वितरणयोग्य नाफा खुम्चिएको हो।

यसअनुसार बैंकको वार्षिक वितरणयोग्य नाफा प्रतिसेयर ३ रुपैयाँ ३७ पैसा रहेको छ। अघिल्लो वर्ष यस्तो रकम ५ रुपैयाँ २७ पैसा थियो। यो रकमलाई बैंकले घोषणा गर्ने वास्तविक लाभांशको रूपमा बुझ्न भने मिल्दैन।

समग्रमा सिटिजन्स बैंकको वित्तीय विवरणले नाफा वृद्धिसँगै केही सकारात्मक सुधार देखाए पनि खराब कर्जा वृद्धि, सुस्त कर्जा विस्तार, खुद ब्याज आम्दानीमा कमी र वितरणयोग्य नाफाको गिरावटजस्ता चुनौती कायमै रहेको देखाएको छ। आगामी वर्ष बैंकका लागि खराब कर्जा नियन्त्रण, कर्जा असुली र मुख्य बैंकिङ आम्दानीलाई दिगो रूपमा बढाउनु महत्वपूर्ण हुने देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?