काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार हासिल गरेको छ। बैंकले यस अवधिसम्म ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकद्वारा सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको वृद्धि तथा इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा उल्लेख्य सुधार आएको हो। समीक्षा अवधिमा सञ्चालन नाफा बढेर १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ८८ करोड ४४ लाख रुपैयाँ थियो।
खुद ब्याज आम्दानी पनि उल्लेख्य रूपमा वृद्धि भई २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ६४ करोड २३ लाख रुपैयाँ थियो। यद्यपि कुल सञ्चालन आम्दानी भने २ अर्ब ७ करोड १४ लाख रुपैयाँबाट घटेर १ अर्ब ९ लाख रुपैयाँमा सीमित भएको छ।
इम्पेयरमेन्ट चार्जतर्फ बैंकले अघिल्लो वर्ष ३४ करोड ५४ लाख रुपैयाँ छुट्याएकोमा यस वर्ष घटाएर ९ करोड १३ लाख रुपैयाँमा झारेको छ। तर खराब कर्जा अनुपात भने ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने लाभांश क्षमता १०.३६ प्रतिशतबाट बढेर १३.१९ प्रतिशत पुगेको छ। बैंकको सञ्चित मुनाफा २ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको छ।
निक्षेपतर्फ बैंकले ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा तथा सापटी ४५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ४.३४ प्रतिशत र कर्जा ७.०३ प्रतिशतले वृद्धि भएको छ।
यसैगरी बैंकको क्यापिटल एडिक्वेसी रेसियो १४.६३ प्रतिशत, रिटर्न अन इक्विटी १४.५२ प्रतिशत र रिटर्न अन एसेट १.३७ प्रतिशत कायम भएको छ। कस्ट अफ फन्ड घटेर ३.५४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ५.०१ प्रतिशत थियो।
प्रति सेयर आम्दानी (ईपीएस) बढेर २३.८३ रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष १७.०६ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.९५ गुणा रहेको छ।
बैंकले आगामी दिनमा डिजिटल बैंकिङ विस्तार, खर्च नियन्त्रण, गुणस्तरीय कर्जा प्रवाह र जोखिम व्यवस्थापनमार्फत दिगो नाफा वृद्धि गर्ने रणनीति अघि सारेको जनाएको छ।































