काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि लिन बाँकी रहेको लाभांश रकम दाबी गर्न सम्बन्धित शेयरधनीलाई अनुरोध गरेको हो ।
बैंकका अनुसार विगतका साधारण सभाबाट पारित भएबमोजिम आर्थिक वर्ष २०८२/८३ सम्म पाँच वर्ष अवधि नाघिसकेको तर सम्बन्धित शेयरधनीले नलिएको नगद लाभांश बाँकी रहेको छ । यस्तो लाभांश लिन बाँकी शेयरधनीले आफ्नो लाभांश रकम समयमै बुझिलिन बैंकले आग्रह गरेको छ ।
लाभांश लिनका लागि शेयरधनीले बैंकको शेयर रजिस्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ । तोकिएको समयमा लाभांश लिन नआएमा प्रचलित कानुनबमोजिम बाँकी रकम अन्यत्र हस्तान्तरण हुने प्रक्रिया अघि बढाइने बैंकको सूचनामा उल्लेख छ ।
निष्क्रिय खाता सक्रिय गर्न १५ दिनको समय
त्यस्तै, बैंकले लामो समयदेखि कारोबार नभएका निष्क्रिय (Dormant) खाताहरूलाई सक्रिय (Active) गर्न पनि सम्बन्धित खातावालालाई आग्रह गरेको छ ।
बैंकका अनुसार विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभएका तथा शून्य मौज्दात रहेका निष्क्रिय खाताहरू सक्रिय गर्नुपर्नेछ । त्यसका लागि सम्बन्धित निक्षेपकर्ता वा कानुनी हकवालाले आवश्यक प्रमाणसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूलाई पायक पर्ने शाखा कार्यालयमा स्वयं उपस्थित भई खाता अद्यावधिक तथा सक्रिय गर्न बैंकले अनुरोध गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशनअनुसार लामो समयसम्म कारोबार नभएका खाताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ । तोकिएको अवधिमा खाता सक्रिय नगरिएमा प्रचलित व्यवस्थाअनुसार त्यस्ता खाताहरू बन्द गरिने बैंकले स्पष्ट पारेको छ ।
२० वर्षदेखि निष्क्रिय खाताको रकम बैंकिङ विकास कोषमा जाने
सांग्रिला डेभलपमेन्ट बैंकले २० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभई निष्क्रिय अवस्थामा रहेका खाताहरूलाई समेत सक्रिय गर्न सम्बन्धित निक्षेपकर्ता तथा कानुनी हकवालालाई आग्रह गरेको छ ।
बैंकका अनुसार आवश्यक प्रमाणसहित १५ दिनभित्र सम्बन्धित शाखामा सम्पर्क गरी खाता अद्यावधिक गर्न सकिनेछ । अन्यथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनबमोजिम २० वर्ष वा सोभन्दा बढी समयदेखि हकदाबी नपरेका रकम नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
बैंकले निष्क्रिय खातासँग सम्बन्धित निक्षेपकर्ता तथा हकवालाको विवरण आफ्नो वेबसाइटमा समेत राखिएको जनाएको छ । सम्बन्धित व्यक्तिहरूले बैंकको वेबसाइट www.shangrilabank.com मार्फत आवश्यक जानकारी लिन सक्नेछन् ।































