काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारका लागि उच्च अदालत पाटनबाटले आदेश दिएसँगै काठमाडौँ महानगरपालिकाले फेरि फुटपाथ विस्तारको काम अगाडि बढाएको छ ।
महानगरले बुधवार बिहानैबाट उक्त स्थानमा फुटपाथ विस्तारको कामलाई अगाडि बढाएको छ । अहिले डोजर लगाएर सडकको दायाँबायाँको भाग भत्काउन सुरु गरिएको छ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
उक्त आदेशसँगै महानगरले फुटपाथ विस्तारको काम सुरु गरेको हो। यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रक्रिया अगाडि बढाएको थियो । कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।
तर सडक डिभिजन काठमाडौँले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो ।


































