काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारी संस्थाका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुर सहकारीका ५२, ओरियन्टल को-अपरेटिभका ८, तुलसी बहुमुखी सहकारीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकम सम्बन्धित पीडित बचतकर्तालाई फिर्ता गर्दै आएको जनाएको छ।
समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको हो।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने प्रक्रिया प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।

































