काठमाडौँ । धितो पत्र बोर्डको सर्ट लिस्टमा नाम परेका अध्यक्षका प्रतिस्पर्धीहरू अन्तर्वार्तामा अनुपस्थित भएका छन्।
५ प्रतिस्पर्धी मध्येमा ३ जना अन्तर्वार्तामा अनुपस्थित भएका हुन् । अध्यक्षका उम्मेदवारका लागि छानिएको सर्ट लिस्टमा सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा.नवराज श्रेष्ठ र चिरञ्जीवी चापागाईँ परेका थिए ।
उनीहरूमध्ये सन्तोष र मुक्तिनाथ मात्र उपस्थित भएका हुन् । हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर, धितो पत्र बोर्डका कार्यकारी निर्देशक नवराज र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवि भने अन्तर्वार्तामै सहभागी भएनन् ।
नेपाल धितो पत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्छ । त्यसमध्ये उपयुक्त एकलाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्छ ।
तर, न्यूनतम उम्मेदवार नै सहभागी नभएपछि सिफारिस प्रक्रिया रद्द हुने सम्भावना बढेको छ । अनुपस्थितमध्ये एक सदस्यले आफू काठमाडौँ बाहिर रहेकाले उपस्थित हुन नसकेको जनाएका छन् ।

































