काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले मुलुकको आर्थिक सूचकहरूले अहिले सकारात्मक संकेत देखाए पनि ठूला चुनौतीहरू अझै बाँकी रहेको बताएका छन्। बुधबार नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव समारोहमा उनले यसबारेमा आफ्नो विचार प्रस्तुत गरेका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, “हालका आर्थिक सूचकहरूले राम्रो स्थिति देखाउँछन्, तर हाम्रो सामना अझै ठूला चुनौतीसँग छ। निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्नु, मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति श्रृंखला प्रभावित हुनु, आयातित वस्तुहरूको मूल्य वृद्धि र उत्पादन लागतको बढोत्तरी जस्ता चुनौतीहरू देखिन्छन्।
उनले निक्षेपको विकल्पको खोजी अपरिहार्य भएको बताए। “दीर्घकालीन वित्तीय उपकरण उपलब्ध गराउने र दीर्घकालीन दायित्व र सम्पत्तिमा मिसम्याच हुन नदिनुपर्ने व्यवस्था आवश्यक छ।” उनले भने।
अर्थमन्त्री खनालले पेन्सन फण्ड म्यानेजमेन्ट कम्पनीहरूलाई सम्पत्ति दायित्व व्यवस्थापन गर्ने क्रममा मिसम्याचको समस्या, असामञ्जस्यको समस्या र असन्तुलनको समस्याहरू देखिएको बताए । यस्ता समस्या समाधान गर्नका लागि सरकारले ऋणपत्रहरू जारी गर्नुपर्ने र त्यो शुरु भइसकेको समेत उनले जानकारी दिए ।
दीर्घकालीन लगानीमा जोड दिनुपर्ने अर्थमन्त्रीको भनाई छ । उनले भने, ‘अहिले वित्तीय बजारमा तरलता प्रचुर छ । ब्याजदर ऋणात्मक हुन गएको छ । यस्तो अवस्थामा दीर्घकालीन लगानी बढाउनुपर्छ ।’
सरकारी स्वामित्व भएका वित्तीय संस्थाहरू दीर्घकालसम्म सशक्त रूपमा सञ्चालन गर्न नसकिएको समस्या पनि उनले स्मरण गराएका थिए। उनले भने,“राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई उद्धार गर्नु परेको थियो। तर नागरिक लगानी कोषले साढे तीन दशकसम्म सशक्त रूपमा काम गर्दै आएको छ।”
अर्थमन्त्री खनाले आउँदो हप्ताभित्रमा नयाँ सरकार गठन भइसक्ने र शुक्रबारसम्म आफू पनि मन्त्रालयबाट बाहिरिइसक्ने समेत बताएका छन्।


































