काठमाडौँ। विश्व बजारमा कच्चा तेलको मूल्य पुनः तीव्र गतिमा बढ्न थालेको छ। सोमबार बिहान अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको भाउ ३ प्रतिशतभन्दा बढीले उकालो लाग्दै प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुगेको छ।
यो दर मार्च १९ यताकै उच्च स्तर हो। त्यसअघि केही समयका लागि मूल्य ११९ डलरसम्म पुगेको थियो।
सप्ताहन्ततिर द्वन्द्व अझ चर्किएको संकेत देखिएको छ। इरान समर्थित हुथी समूहले पहिलोपटक इजरायलतर्फ मिसाइल प्रहार गरेको छ भने इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य गतिविधि विस्तार गरेको छ। यसबीच, स्ट्रेट अफ हर्मुजमा अवरोध उत्पन्न भएपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो असर परेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा एलएनजी यही मार्गबाट ओसारपसार हुने भएकाले यसको अवरोधले ऊर्जा संकट गहिरिने चिन्ता बढाएको छ।
युद्ध सुरु भएयता कच्चा तेलको मूल्य झन्डै ६० प्रतिशतले बढिसकेको छ, जसको असर विश्वभर इन्धन मूल्यमा परेको छ। धेरै देशहरूले ऊर्जा बचतका आपतकालीन उपायहरू लागू गर्न थालेका छन्। यस प्रभावले एसियाली सेयर बजारसमेत प्रभावित भएको छ। सोमबार जापानको निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी सूचक ४ प्रतिशतभन्दा बढीले घटेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ६ भित्र स्ट्रेट अफ हर्मुजमा अवरोध हटाइनसके इरानको ऊर्जा पूर्वाधारमा कडा कारबाही गर्ने चेतावनी दिएका छन्। विश्लेषकहरूका अनुसार, जहाज आवागमन पूर्ण रूपमा सामान्य नहुँदासम्म तेलको मूल्य अझै उकालो लाग्ने सम्भावना कायम छ।


































