काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री वितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने २ फार्मलाई ३–३ लाख रुपैयाँका दरले जरिवाना गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्ट ट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्री वितरण गरेको पाइएको हो । यस्तै, ताहाचलस्थित मेगा मार्ट प्रालिले उपभोग्य गरिसक्नुपर्ने अवधि व्यतित भइसकेका वस्तु बिक्री वितरण गरेको भेटिएको विभागले जनाएको छ ।
यसैबीच, विभागले साल्ट ट्रेडिङले उत्पादन गरेको नुन तोकिएभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्न सम्पूर्ण व्यवसायीमा अनुरोध गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ मा निर्धारित मूल्यभन्दा बढीमा उपभोग्य सामग्री तथा म्याद नाघेका खाद्यवस्तु बिक्री गर्ने फर्ममाथि २ देखि ३ लाखसम्म जरिवाना हुने व्यवस्था रहेकातर्फ विभागले व्यवसायीको ध्यानाकर्षण गराएको छ । रासस


































