काठमाडौँ। उद्घाटनको तीन वर्षभन्दा बढी समय पश्चात् सञ्चालनमा आएको धरहरा मंसिर ९ गतेदेखि सशुल्क सञ्चालनमा आएको छ ।
४२ प्रतिशत मात्रै काम सम्पन्न हुँदा २०७८ वैशाखमा प्रधानमन्त्री ओलीले उद्घाटन गरेकै तीन वर्ष भए पछि धरहरा अस्थायी रूपमा भए पनि सर्वसाधारणका लागि खुला भएको थियो । भदौमा निःशुल्क रूपमा सञ्चालन गरिएको भए पनि धरहराको आन्तरिक कक्षमा मर्मत गर्नका लागि भन्दै पुनः बन्द गरिएको थियो ।
उसो त मंसिर ९ गते आइतबारदेखि सर्वसाधारणका लागि शशुल्क खुला भएको धरहराले पहिलो दिनमै टिकट मार्फत १ लाख २० हजार भन्दा बढी रुपैयाँ संकलन गरेका छ।
आइतबार पहिलो दिन ६६३ जनाले धरहरा चढेका छन् । असोज ३ गते संविधान दिवसको दिनबाट सर्वसाधारणका लागि खुल्ला गरिएको धरहरामा मंसिर ९ गतेबाट मात्रै शुल्क लिन थालिएको हो । ७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएको धरहरा पहिले भन्दा प्रविधियुक्त भएको व्यवस्थापन समितिको भनाई छ ।
धरहरा चढ्नका लागि प्रत्येक नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेक पर्यटकलाई १ हजार शुल्क लगाउन सुरु गरिएको छ । साथै, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउँछन् ।


































