काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट विदेशी लगानीकर्ताहरूले झण्डै पौने १६ अर्ब रुपैयाँ बराबरको लगानी फिर्ता (रिपार्टेसन) लिएका छन् ।
उद्योग विभागको एक सार्वजनिक तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो महिना साउनदेखि असार मसान्तसम्म १५ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ लगानी फिर्ता लिनका लागि विदेशी लगानीकर्ताले सिफारिस लिएको उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षभरि विदेशी लगानीकर्ताले नेपालमा सञ्चालित परियोजनाहरूबाट १० अर्ब ७ करोड ८२ लाख रुपैयाँ लाभांश मात्रै फिर्ता लिएका छन् । यस्तो लाभांश अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने १३ अर्ब बढी बाहिरिएको थियो ।
खास गरी नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरूले लाभांश, रोयल्टी, सेवा शुल्कलगायत शीर्षकमा लगानी फिर्ता लैजाने गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ । गएको असारमा मात्रै यस्तो लाभांश विदेशी लगानीकर्ताहरूले नेपालबाट १० करोड ५३ लाख रुपैयाँ फिर्ता लिएका छन् ।
त्यस्तै यो अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा सञ्चालित परियोजनाहरूबाट ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको रोयल्टी पनि फिर्ता लिनका लागि विभागबाट सिफारिस लिएका छन् । यस्तो रकम फिर्ता लैजानका लागि विदेशी लगानीकर्ताहरूले उद्योग विभागबाट सिफारिस लिएर राष्ट्र बैंकमार्फत फिर्ता लैजाने गरेका छन् ।


































