काठमाडौँ। पछिल्लो ११ महिनामै विभिन्न देशबाट १० लाख बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डले (आज) आइतबार सार्वजनिक गरेको एक तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमनको यो सङ्ख्याले पर्यटन उद्योगमा उत्साह थपेको छ। २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो । त्यसबेला २४ हजार ४ सय ४३ जना आएका थिए । त्यस्तै, उक्त अवधिमा अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन्, बेलायतबाट ६ हजार ६ सय ११ आएका छन् । चीनबाट ९ हजार ४ सय ५८ आएका छन्।
बोर्डका अनुसार गत नोभेम्बरमा सार्क राष्ट्रबाट ३१ हजार १ सय ६७, अन्य एसियाली देशबाट २४ हजार ८ सय ९७, युरोपबाट २६ हजार १ सय ५५ र मध्यपूर्वबाट १ हजार ४ सय ८८ पर्यटक नेपाल आइपुगेका थिए । २०२३ नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० आएका थिए । २०२४ नोभेम्बरमा ५.४ प्रतिशतले बढेका छन् ।
२०२४ जनवरीमा ७९ हजार १ सय, फेब्रुअरी ९७ हजार ४ सय २६, मार्च १ लाख २८ हजार १ सय ६७, अप्रिल १ लाख ११ हजार ३ सय ७६, मे ९० हजार २ सय ११, जुन ७६ हजार ७ सय ३६, जुलाई ६४ हजार ५ सय ९९, अगस्ट ७२ हजार ७ सय १९, सेप्टेम्बर ९६ हजार ३ सय ५ र अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको तथ्यांकमा उल्लेख छ।


































