काठमाडौं । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले बढी हो।
सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।
जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट मात्रै २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन्, जुन कुल पर्यटक आगमनको ३२.७३ प्रतिशत हो।
त्यसपछि चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८९० जनाको तुलनामा ६१.०९ प्रतिशत बढी हो।
चिनियाँ पर्यटक आगमन सन् २०१९ को कोभिडपूर्व जुलाईको तुलनामा पनि ८.६५ प्रतिशतले माथि पुगेको छ। सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक नेपाल आएका थिए।
पर्यटक आगमनका आधारमा अमेरिका तेस्रो स्थानमा रहेको छ। जुलाईमा अमेरिकाबाट ७ हजार ७५४ जना पर्यटक नेपाल आएका छन्। त्यस्तै, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ। जुलाईमा सार्क मुलुकबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो।
तर, सार्क क्षेत्रबाट आएको पर्यटक संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा ११.९३ प्रतिशतले घटेको छ। सन् २०२५ को जुलाईमा सार्क मुलुकबाट ३३ हजार ७८७ जना पर्यटक आएका थिए।
सार्क क्षेत्रभित्र भुटानबाट ९९१, पाकिस्तानबाट ४७५ र श्रीलंकाबाट ५८१ जना पर्यटक आएका छन्। पाकिस्तानबाट आउने पर्यटक संख्या ३.९४ प्रतिशतले बढेको छ भने श्रीलंका र माल्दिभ्सबाट आउने पर्यटक संख्यामा केही गिरावट आएको छ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन्। यो कुल आगमनको २४.२८ प्रतिशत हो। अघिल्लो वर्षको जुलाईमा यो समूहबाट १३ हजार ५२ जना पर्यटक आएका थिए। यस आधारमा अन्य एसियाली बजारमा ३३.०५ प्रतिशत वृद्धि भएको छ।
अन्य एसियाली बजारमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक आएका छन्।
युरोपेली बजारबाट जुलाईमा ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन्। कुल आगमनमा युरोपको हिस्सा १२.९३ प्रतिशत रहेको छ। बेलायतबाट ३ हजार ७७३, जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९ र रूसबाट ४६७ जना पर्यटक आएका छन्।
यसैगरी अमेरिकी मुलुकबाट ८ हजार ८२४, ओसियानिया क्षेत्रबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ र अफ्रिकी मुलुकबाट ३२४ जना पर्यटकले जुलाईमा नेपाल भ्रमण गरेका छन्।
पर्यटन बोर्डका अनुसार पछिल्लो समय चीनलगायत केही प्रमुख बजारबाट पर्यटक आगमनमा सुधार देखिएको छ भने दक्षिण एसियाली बजारमा भने केही कमी आएको छ।


































