काठमाडौं । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट सीईओ पदका लागि आवेदन माग गरेको हो।
बोर्डका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदनको अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म दरखास्त बुझाउन सकिने व्यवस्था गरिएको छ।
सीईओ पदका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ। साथै, प्रचलित कानुनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्नेछ।
आवेदकले व्यक्तिगत विवरण, शैक्षिक योग्यता र कार्यअनुभवलगायत प्रमाणित कागजातसँगै नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धि गर्ने सम्बन्धमा ३ हजार शब्दमा नबढ्ने रणनीतिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ।
त्यसैगरी, आफूले काम गरेको संस्था वा सम्बन्धित क्षेत्रमा हासिल गरेका उल्लेखनीय उपलब्धिका विषयमा १ हजार शब्दमा नबढ्ने प्रतिवेदनसमेत आवेदनसँगै बुझाउनुपर्नेछ। कुनै सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेका उम्मेदवारले सम्बन्धित निकायबाट विभागीय स्वीकृति प्राप्त गरेको पत्र पनि संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ।
सीईओ छनोट तथा नियुक्ति सिफारिससम्बन्धी कार्यविधि, २०८३ को दफा ४ को उपदफा (९) बमोजिमको स्वघोषणासमेत आवेदनसँगै पेस गर्नुपर्नेछ।
सीईओ पदका लागि आवेदन दिने उम्मेदवारले दरखास्त दस्तुरबापत १५ हजार रुपैयाँ बुझाउनुपर्नेछ। उक्त रकम नेपाल पर्यटन बोर्डको नाममा नबिल बैंक, तीनधारा शाखामा रहेको खातामा जम्मा गरी बैंक भौचर आवेदनसँगै संलग्न गर्नुपर्नेछ।
दरखास्त काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको सचिवालयमा बुझाउन सकिनेछ। इमेलमार्फत आवेदन दिने उम्मेदवारले पनि आवश्यक कागजातसहित आवेदन पठाउन सक्ने व्यवस्था गरिएको छ।
इमेलमार्फत आवेदन दिनेले बैंक भौचर तथा प्रमाणित प्रतिलिपि कागजातसमेत संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ। सीईओ पदका लागि दरखास्तसम्बन्धी विस्तृत सूचना बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ।
सीईओ छनोट उपसमितिले प्राप्त आवेदन संकलन गरी छनोट प्रक्रिया अघि बढाउने बोर्डले जनाएको छ।


































